सुदूरपश्चिमको मुख्य पर्व गौराको दोस्रो दिन, आज ‘नानी गौरा’ मनाइँदै छ । भाद्र कृष्ण षष्ठीको दिन नानी गौरा मनाउने चलन छ । यसलाई स्थानीय भाषामा ‘न्वालाकी गौरा’ पनि भनिन्छ ।
आजको दिन हिज पञ्चमीमा भिजाइएका बिरुडालाई पखाल्ने चलन छ । व्रतालु महिलाहरू गाउँकै पवित्र जलासयमा गएर फाग र माङल गाउँदै बिरुडा पखाल्ने गर्छन् ।
गौरा पूजाका लागि प्रयोग हुने अक्षता र प्रसाद स्वरूप संकलित बिरुडालाई एउटा पवित्र ताम्रपत्र, पित्तल वा उपलब्ध भाँडामा एकसाथ मिलाएर मांगलिक पूजाआजाका साथ हिजो व्रतालु महिलाहरूबाट बिरुडा भिजाउने काम भएको थियो । नानी गौराको दिन वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई पानीको मुहान, धारा तथा तलाउमा लगेर पूजाआजा गर्ने गरिन्छ ।
आजकै दिन फाग र डेउडालगायतका गीत गाउनुका साथै खेल खेल्ने चलन पनि छ । सप्तमीको दिन गौरालाई गौराघरमा भित्र्याउने गरिन्छ । त्यो दिन व्रतालु महिलाहरूले साँझ गौराघरमा गौराको पूजा गर्ने चलन छ ।
अष्टमी अर्थात्, गौराष्टमीका दिन पूजाआजा गर्दै मंगल गानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । पाँच दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी फाग, डेउडाजस्ता गीत गाउने र डेउडा खेल्ने चलन छ ।
पौराणिककालमा हिमालयपुत्री पार्वतीले ‘महादेवलाई पति पाउँ’ भनेर बालुवाको शिवलिङ्ग बनाएर कष्टसाध्य तपस्यापश्चात् बरदान पाएर शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता छ । सोहीअनुसार गौरा पर्व मनाइँदै आइएको पाइन्छ ।