सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले शिक्षाको गुणस्तर सुधारका लागि बजेट समानुपातिक र आवश्यकतामा आधारित रूपमा वितरण गर्नुपर्ने बताउनुभएको छ।
वर्ल्ड भिजनको समन्वयमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय विद्यालय दिवा खाजा सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले शैक्षिक सुधारसँगै विद्यालयका भौतिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
उहाँले कतिपय विद्यालयमा आवश्यकताभन्दा बढी भौतिक संरचना निर्माण हुने तर कतिपय विद्यालयमा आधारभूत पूर्वाधारसमेत अभाव रहेको भन्दै यस्तो असमानता अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।
“कतै भवनै भवन हुने र कतै भवनको अभाव हुने गरी बजेट वितरण हुनुहुँदैन,” मुख्यमन्त्री भट्टले भन्नुभयो।
मुख्यमन्त्री भट्टले विद्यालय दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने बताउनुभयो। उहाँले बालबालिकाको पोषण र शिक्षालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिँदै भन्नुभयो—
“भोको पेटले पहिले शिक्षा होइन, खाना खोज्छ।”
प्रदेशमा विकास बजेटको प्रभावकारी कार्यान्वयन र सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले नेपाल पत्रकार महासंघ तथा सञ्चारकर्मीलाई सरकारका कामकारबाहीमा निरन्तर खबरदारी गर्न आग्रह गर्नुभयो।
मुख्यमन्त्री भट्टले प्रदेशका नीति, योजना र कार्यक्रमलाई क्रमशः परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै सुदूरपश्चिमको विकास र समृद्धिका लागि सबै पक्षले दृढ इच्छाशक्तिका साथ जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभयो।