सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री भट्टले आइतबार आन्तरिक मामिला मन्त्रालयका सचिव तेजप्रकाश जोशीसँग प्रदेशको समग्र विपद् जोखिमको अवस्था, सम्भावित जोखिमयुक्त क्षेत्र, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापन र विपद् प्रतिकार्यका लागि प्रदेश सरकारको तयारीबारे विस्तृत जानकारी लिएका हुन्।
ब्रिफिङका क्रममा सम्भावित विपद्का घटनाबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि अपनाइएका उपाय, आवश्यक स्रोत–साधन तथा विपद् प्रतिकार्यमा परिचालित हुने प्रदेशस्तरीय संयन्त्रको अवस्थाबारे जानकारी गराइएको थियो।
मुख्यमन्त्री भट्टले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले पूर्वतयारीलाई विशेष प्राथमिकता दिन निर्देशन दिए। उनले आवश्यक सबै संयन्त्रलाई तदारुकताका साथ तयारी अवस्थामा राख्न तथा विपद् प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, उद्धार सामग्री, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक स्रोत–साधनको व्यवस्थापन चुस्त राख्न आग्रह गरे।
उनले सम्भावित जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन तथा सूचना संकलन गर्न र विपद्को पूर्वसूचना प्राप्त हुनेबित्तिकै सम्बन्धित निकाय सक्रिय हुने गरी संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिए।
मुख्यमन्त्री भट्टले प्रदेश सरकार, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन संयन्त्र र सुरक्षा निकायबीच स्पष्ट भूमिका र जिम्मेवारीसहितको समन्वय आवश्यक रहेको बताए। विपद्को समयमा कुनै पनि निकायबीच समन्वयको अभाव हुन नदिन सम्बन्धित मन्त्रालय तथा निकायलाई सक्रिय भूमिका निर्वाह गर्न पनि उनले निर्देशन दिएका छन्।