सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि ३० गतेसम्म २०३ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु, १०३ जना गम्भीर घाइते र १९८ जना सामान्य घाइते भएका छन्।
प्रदेश ट्राफिक प्रहरीको विवरणअनुसार सो अवधिमा सवारी नियम उल्लंघन गर्ने ३ हजार ४८१ वटा सवारी साधनमाथि कारबाही गरिएको छ। कारबाहीबाट ३७ लाख ९० हजार ५०० रुपैयाँ जरिवाना संकलन भएको छ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने १०७ जना चालकलाई कारबाही गरी ४ लाख ३८ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, ओभरलोड बोकेका ४५७ वटा सवारी साधनमाथि कारबाही गर्दा ३ लाख २२ हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ।
कैलालीको चिसापानी क्षेत्रमा ७२ वटा सवारी साधनको संयुक्त चेकजाँच गर्दा ७ वटा सवारी साधनमाथि कारबाही गरी २७ हजार ५०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकको स्वास्थ्य परीक्षण गर्दा ७ जनामा परीक्षण पोजेटिभ देखिएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने एक जना चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय डडेल्धुरालाई लेखी पठाइएको छ।
प्रहरीले स्वामित्व नखुलेका १७ वटा मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी कैलाली भन्सार कार्यालय धनगढी पठाएको छ। गैरकानुनी रूपमा चलाइएका तथा धनी नखुलेका मोटरसाइकल नियन्त्रण गर्ने अभियानअन्तर्गत विभिन्न मोडेलका १५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।
यसैबीच, डडेल्धुराको अमरगढी नगरपालिका–७ खसेखानीस्थित दशरथचन्द राजमार्गको बढी दुर्घटना हुने क्षेत्रमा ‘ब्ल्याक स्पट’ सम्बन्धी सचेतनामूलक बोर्ड राखिएको छ।
प्रहरी कर्मचारीको मनोबल तथा प्रोत्साहनका लागि महिला प्रहरी कर्मचारीको सामूहिक जन्मोत्सव मनाउने, प्रहरी कर्मचारीलाई समूह बनाएर फिल्म हेर्ने व्यवस्था गर्ने तथा बिदाको दिन ड्युटीमा नरहेका प्रहरी कर्मचारीलाई पालो मिलाएर हाइकिङ लैजाने कार्यक्रमसमेत सुरु गरिएको विवरणमा उल्लेख छ।