पाली कांग्रेसका युवा नेताहरूले पार्टीभित्रको मतभेद अन्त्य गर्दै संगठनात्मक एकता सुदृढ बनाउने उद्देश्यसहित ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रियसभा सदस्य रञ्जित कर्ण लगायतका नेताहरूले अभियान सार्वजनिक गर्दै पार्टीभित्र देखिएको विभाजन अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।
पत्रकार सम्मेलनमा बोल्दै नेता महरले साउन २० गते बिहान ११ बजे काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिए। उनका अनुसार कांग्रेसबाट विभिन्न तहमा निर्वाचित देशभरका जनप्रतिनिधिलाई भेलामा सहभागी गराइनेछ।
महरले संस्थापन र संस्थापनइतर दुवै पक्षका नेताहरूलाई एउटै मञ्चमा ल्याएर पार्टीभित्रको संवाद र सहकार्यलाई अघि बढाउने प्रयास गरिने बताए।
अभियान सार्वजनिक गर्दै जारी विज्ञप्तिमा कांग्रेसभित्र लामो समयदेखि देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बनेको उल्लेख गरिएको छ। कांग्रेस कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुने भएकाले पार्टी एकता लोकतन्त्रको रक्षा र राष्ट्रिय स्थायित्वसँग जोडिएको दायित्व भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा मुलुक अहिले साम्प्रदायिक तनाव, आर्थिक मन्दी, बेरोजगारी, युवाको पलायन, सुशासनको चुनौतीलगायतका समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै यस्ता राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आन्तरिक विवादमै अल्झिनु चिन्ताजनक भएको जनाइएको छ।
अभियान कुनै व्यक्ति, गुट वा पदका लागि नभई ‘एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपाल’ को साझा अभियान भएको नेताहरूले बताएका छन्। साउन २० को राष्ट्रिय एकता भेलाबाट पार्टी एकतालाई संस्थागत गर्ने, जनतासँगको सम्बन्ध थप मजबुत बनाउने तथा आगामी कार्ययोजना सार्वजनिक गरिने जनाइएको छ।