नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेलाको तयारीका लागि ५५१ सदस्यीय आयोजक समिति गठन गरेको छ। समितिको संयोजकमा नेता डा. शशांक कोइरालालाई जिम्मेवारी दिइएको छ।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत इतर पक्षले आगामी श्रावण २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको हो।
संयोजक कोइरालाले जारी गरेको विज्ञप्तिमा पार्टीलाई सबल, सक्षम र एकताबद्ध बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको उल्लेख छ। उनले पार्टीभित्र एकताको प्रयास निरन्तर गरिए पनि जिम्मेवार पदमा रहेका नेताहरूले अपेक्षित भूमिका निर्वाह गर्न नसकेको आरोप समेत लगाएका छन्।
विज्ञप्तिमा पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि, समर्थक तथा शुभेच्छुकहरूमा बढ्दो चिन्ता र निराशालाई सम्बोधन गर्न भेला आयोजना गर्नुपरेको उल्लेख गरिएको छ।
भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्य, पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारी, जिल्ला कार्यसमितिका पदाधिकारी, महानगर तथा निर्वाचन क्षेत्रका सभापति, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसहित पार्टीका विभिन्न तहका नेताहरूलाई सहभागी हुन आह्वान गरिएको छ। १४औँ महाधिवेशनमा ४,७४३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए।
कांग्रेसभित्र विशेष महाधिवेशनको कानुनी पक्ष टुंगिए पनि राजनीतिक सहमति नजुटेकाले पछिल्ला दिनमा संस्थापन र इतर पक्षका गतिविधि समानान्तर रूपमा अघि बढिरहेका छन्। हालै बीपी स्मृति दिवसका अवसरमा पनि दुवै पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए।
पार्टी सभापति शेरबहादुर देउवा विदेशमा रहेका कारण कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले सम्हालिरहेका छन्। खड्काको नेतृत्वमा देउवा समूहका बैठक र भेला भइरहेका छन्, जसमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू सक्रिय छन्। नेता शेखर कोइराला पनि समय–समयमा उक्त समूहका कार्यक्रममा सहभागी हुने गरेका छन्।
देउवा साउनभित्रै नेपाल फर्कने तयारीमा रहे पनि इतर पक्षले आयोजना गर्ने राष्ट्रिय भेलामा उनी सहभागी हुने वा नहुने विषय अझै टुंगो लागेको छैन।