अत्तरिया उद्योग वाणिज्य संघले अत्तरिया क्षेत्रको दशकौँ पुरानो बस्ती, सार्वजनिक संरचना तथा उद्योग वाणिज्य संघको कार्यालय रहेको जग्गा संरक्षणका लागि पहल गरिदिन कैलाली निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य खेमराज कोइरालालाई ज्ञापनपत्र बुझाएको छ।
बुधबार संघको कार्यालयमै सांसद कोइरालालाई बोलाएर अध्यक्ष कमल कडायतले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।
ज्ञापनपत्रमा गोदावरी नगरपालिका–२ उत्तर वनखेतमा २०४० सालदेखि बसोबास गर्दै आएका झन्डै एक सयभन्दा बढी घरधुरी, अत्तरिया उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति, विद्यालय, मठमन्दिर तथा सार्वजनिक बाटोहरू सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनीको भोगाधिकार क्षेत्रभित्र परेकाले स्थानीय बस्ती नै विस्थापित हुने जोखिम बढेको उल्लेख गरिएको छ।
लामो समयदेखि चलनभोगमा रहेको उक्त जग्गामा अत्तरिया उद्योग वाणिज्य संघले स्थानीयवासी, उद्योगी–व्यापारी तथा विभिन्न निकायको सहयोगमा करिब दुई करोड रुपैयाँ लागतमा भवन निर्माण गरी कार्यालय सञ्चालन गर्दै आएको ज्ञापनपत्रमा उल्लेख छ। साथै, उक्त जग्गा सम्बन्धित व्यक्ति तथा संस्थाकै नाममा कायम गराउन संघीय सरकारसँग आवश्यक पहल गरिदिन सांसद कोइरालासमक्ष आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझ्दै सांसद खेमराज कोइरालाले स्थानीयको जायज मागप्रति आफू संवेदनशील रहेको बताउँदै समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय तथा निकायसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। उनले स्थानीय प्रतिनिधिहरूसँगै सम्बन्धित निकायमा डेलिगेसन जाने र आवश्यक परे विषयलाई मन्त्रिपरिषद्सम्म पुर्याएर समाधानका लागि पहल गर्ने आश्वासन दिए।
संघका अनुसार अत्तरिया बजार क्षेत्रको विकाससँग जोडिएको उक्त बस्ती, सार्वजनिक संरचना र संस्थागत सम्पत्तिको संरक्षण स्थानीय समुदायको दीर्घकालीन हितसँग सम्बन्धित भएकाले सरकारबाट यथाशीघ्र उचित निर्णय हुनुपर्ने माग गरिएको छ।