कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ।
विश्वविद्यालयको आह्वानमा आयोजित अभियानमा विश्वविद्यालय संघर्ष समिति, दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय, सरस्वती नमूना माध्यमिक विद्यालय, सत्यवती एकेडेमी, लोटस आई अंग्रेजी माध्यमिक विद्यालय, एसपीए कलेज, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न युवा क्लब, स्थानीयवासी तथा समाजसेवीहरू को उल्लेखनीय सहभागिता रहेको थियो।
लामो समयदेखि उचित व्यवस्थापनको अभावमा झाडी तथा अनावश्यक वनस्पतिले ढाकिएको विश्वविद्यालय परिसरलाई सफा गर्न सबै क्षेत्रबाट सामूहिक श्रमदान गरिएको हो।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी ले विश्वविद्यालय परिसरलाई व्यवस्थित, स्वच्छ र आकर्षक बनाउन सामाजिक संघसंस्था, युवा क्लब, नेपाल रेडक्रस, नागरिक समाज, स्थानीय समूह तथा अन्य सरोकारवाला निकायलाई अभियानमा निरन्तर हातेमालो गर्न आह्वान गरेका छन्।
उनले विश्वविद्यालय केवल शैक्षिक संस्था मात्र नभई समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण, सरसफाइ र सौन्दर्यीकरणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए। सरसफाइ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने विश्वविद्यालयले जनाएको छ।