कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी नियुक्त भएका छन्।
बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा.डा. जोशीलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी यस विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन्।
उपकुलपतिमा नियुक्त हुनुअघि प्रा.डा. जोशी काठमाडौं मेडिकल कलेजमा कम्युनिटी मेडिसिनका प्राध्यापकका रूपमा कार्यरत थिए। साथै, उनले विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा पनि योगदान दिएका छन्।
त्यस्तै, विश्वविद्यालयको रजिष्ट्रारमा डा. भीम चन्द नियुक्त भएका छन्। काठमाडौं मेडिकल कलेजको स्थापना प्रक्रियामा भूमिका खेलेका डा. चन्दले हस्पिटल म्यानेजमेन्टमा पीएचडी गरेका छन्। उनले काठमाडौं मेडिकल कलेजमा १६ वर्षसम्म प्रशासन प्रमुख, लेखा प्रमुख तथा प्रशासकीय प्रमुखका रूपमा काम गरेका थिए।
डा. चन्दले विश्वविद्यालय स्थापनाको प्रारम्भिक चरणदेखि नै गेटा परियोजनासँग जोडिएर काम गर्दै आएको बताएका छन्।
यसअघि गत वैशाखमा सरकारले अध्यादेशमार्फत देशभरका विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेको थियो। त्यसपछि नयाँ पदाधिकारी नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको थियो।
विश्वविद्यालय ऐनअनुसार गठित उक्त समितिमा प्रा.डा. जयराज अवस्थी, प्रा.डा. लोचना श्रेष्ठ र प्रा.डा. दिनेशकुमार लम्साल सदस्य थिए। पछि प्रा.डा. लोचना श्रेष्ठले राजीनामा दिएपछि प्रा.डा. शैलु प्रधान समितिमा मनोनित भएकी थिइन्।
समितिले असारको दोस्रो सातामै उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गरेको थियो।