नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय अत्तरियाले असार महिनको प्रगति विवरण सार्बजनिक गरेको व्ह्ह । आज कार्यालय मै पत्रकार सम्मेलन गरेर ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा अभियानलाई प्रभावकारी बनाउँदै विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।
कार्यालयका अनुसार असार १ गतेदेखि ९ गतेसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ९११ सवारी चालक कारबाहीमा परेका छन्।
उनीहरूबाट रु. ३६ लाख ५१ हजार ५०० जरिवाना संकलन गरिएको छ।त्यसैगरी, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५७३ चालक कारबाहीमा परेका छन्।
उनीहरूबाट रु. २ लाख ५५ हजार ५०० जरिवाना उठाइएको छ। मापसे परीक्षणका क्रममा दुई पटकभन्दा बढी मापसे गरेको पाइएका ८ चालकलाई थप कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।
कार्यालयले असार महिनामा मात्रै ५७० वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी २२ हजार ६६६ जनालाई ट्राफिक सचेतना प्रदान गरेको जनाएको छ।
ओभरलोड तथा क्षमताभन्दा बढी भार बोकेका ११ मालवाहक सवारीलाई पनि कारबाही गरी रु. ६५ हजार जरिवाना गरिएको छ।
सार्वजनिक यातायातलाई सुरक्षित बनाउन २०० वटा सार्वजनिक सवारीमा CCTV जडान गरिएको छ। साथै, अत्तरियास्थित सवारी परीक्षण कार्यालयसँगको संयुक्त अभियानमा १५८ सवारी साधनको यान्त्रिक परीक्षण गरिएको छ।
यस्तै, अभियानमार्फत २८ बेवारिसे मोटरसाइकल नियन्त्रणमा लिइएको, नम्बर प्लेट नभएका ४२० सवारीमा पुनः नम्बर प्लेट जडान गरिएको, नियमविपरीत जडान गरिएका २६ सवारीका हर्न तथा साइरन हटाइएको र २८२ सवारीबाट कालो सिसा (स्टिकर) हटाइएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीको आचरण, दुर्घटना तथा सडकसम्बन्धी गुनासो र सूचना सहज रूपमा उपलब्ध गराउन QR Code प्रणाली समेत सञ्चालनमा ल्याइएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।