राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा सम्बन्धी समसामयिक विषयमा पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्ष २०८२/८३ को प्रगति विवरण सार्वजनिक गरेको छ।
कार्यालयका प्रमुख एसपी प्रहरी उपरिक्षक नबराज कार्कीका अनुसार प्रदेशभर ओभरलोड ढुवानी गर्ने १७४ वटा मालवाहक सवारी साधनलाई कारबाही गरी ३ लाख १७ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ। ट्राफिक प्रहरीले १२१ र यातायात व्यवस्था कार्यालयले ५३ वटा सवारी साधनमाथि कारबाही गरेको जनाएको छ।
यसैबीच, सुदूरपश्चिमका पहाडी जिल्लामा अनुमति बिना रात्रीकालीन सञ्चालनमा रहेका ईभी (EV) सवारी साधनलाई जेठ १२ गतेदेखि पूर्णरूपमा सञ्चालनमा रोक लगाइएको छ।
एसपी कार्कीले पत्रकार सम्मेलनमा सार्बजनिक गरेको बिबरणमा
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४२७ जना सवारी चालकको लागुऔषध परीक्षण गर्दा ४६ जना चालक लागुऔषध सेवन गरी सवारी चलाएको पुष्टि भएको उल्लेख छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने २० वटा सवारी चालक अनुमति पत्र निलम्बन तथा खारेजी प्रक्रियाका लागि यातायात व्यवस्था कार्यालय कञ्चनपुर पठाइएको छ।
त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २ हजार ८६२ चालकलाई कारबाही गरी १५ लाख ६५ हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रदेशबाट बाहिरिने लामो दूरीका सवारी चालकहरूको नियमित ब्रेथलाइजर परीक्षण पनि सुरु गरिएको छ। जेठ ८ गतेदेखि लागू गरिएको उक्त व्यवस्था अनुसार हाईवे इकाइहरूले तालिका बनाएर नियमित जाँच गरिरहेका छन्।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म विभिन्न ट्राफिक कसुरमा ३० हजार ९९२ वटा सवारी साधनलाई कारबाही गर्दा २ करोड ४८ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
सवारी दुर्घटनाको तथ्यांकअनुसार साउनदेखि बैशाख मसान्तसम्म प्रदेशभर १ हजार २२९ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा १७९ जनाको मृत्यु, १ हजार २०३ जना गम्भीर र ८६४ जना सामान्य घाइते भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा १ हजार २०३ दुर्घटनामा १९२ जनाको मृत्यु भएको थियो।
यात्रु सुरक्षालाई मध्यनजर गर्दै सार्वजनिक यात्रुवाहक सवारी साधनमा व्यवसायिक मालसामान ढुवानीमा पूर्ण प्रतिबन्ध लगाइएको कार्यालयले जनाएको छ।
हाल प्रदेशमा सञ्चालनमा रहेका ५४८ सार्वजनिक यात्रुवाहक सवारीमध्ये १९३ वटामा CCTV जडान भइसकेको छ भने बाँकी ३५५ वटामा क्रमिक रूपमा जडान गर्ने काम भइरहेको छ।
यसैगरी, सवारी परीक्षण कार्यालय अत्तरिया र ट्राफिक व्यवस्थापन कार्यालयले संयुक्त रूपमा १५९ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरेको जनाएको छ।
उता, सवारी धनी नखुलेका तथा गैरकानुनी रूपमा सञ्चालनमा रहेका मोटरसाइकल नियन्त्रण अभियानअन्तर्गत जेठ १२ गतेदेखि १६ दिनको अवधिमा विभिन्न स्थानबाट ३० वटा मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।