सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार गोदावरी नगरपालिका–५ मा रहेको गेटा आँखा अस्पतालमा देखिएको व्यवस्थापकीय तथा कर्मचारीसम्बन्धी विवाद समाधानको माग गर्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा गेटा आँखा अस्पताल नेपालसँगै भारतका विभिन्न स्थानबाट उपचारका लागि आउने बिरामीहरूको प्रमुख गन्तव्य बनेको उल्लेख गर्दै अस्पतालका कर्मचारीमाथि भएको भनिएको प्रशासनिक दबाब तथा बेथितिका विषयमा पटक–पटक आन्दोलन र छलफल भए पनि समस्या समाधान नभएको आरोप लगाइएको छ।
स्थानीयवासीले अस्पताल प्रशासन र व्यवस्थापन समितिले समस्याप्रति गम्भीरता नदेखाएको भन्दै विभिन्न ६ बुँदे माग अघि सारेका छन्।
उनीहरूले कर्मचारीमाथिको प्रशासनिक दमन अन्त्य गरी निष्पक्ष मूल्यांकन गर्न, उमेर हद नाघेका चार प्रशासनिक कर्मचारीलाई अवकाश दिन, अस्पतालको व्यवस्थापन तथा आजीवन सदस्यतामा स्थानीयको प्रतिनिधित्व बढाउन, सदस्यता शुल्क घटाउन तथा अस्पतालमा आवश्यक चिकित्सकको व्यवस्था गर्न माग गरेका छन्।
ज्ञापनपत्रमा अस्पताल व्यवस्थापन समितिको पुनर्गठन गरी अध्यक्षसहित कम्तीमा ५० प्रतिशत स्थानीय सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ।
मागहरू तीन दिनभित्र सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिँदै आन्दोलनबाट उत्पन्न हुने कुनै पनि क्षतिको जिम्मेवारी अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रमुख र प्रशासनले लिनुपर्ने उल्लेख गरिएको छ।
मागहरू यस्ता छन् :
१-कर्मचारी माथिको प्रशासकीय दमनको अन्त्य गर्दै न्यायोचित मूल्यांकन हुनुपर्ने ।
२- उमेर हदका नाघेका कर्मचारीलाई तत्काल नै प्रशासनिक कर्मचारीहरु ४ जनाको अवकाश दिनुपर्ने । दिर्घ बहादुर चन्द, गोविन्द जोशी, रमेश चन्द्र ट्ट र राज बहादुर चौधरी ।
३-नेपाल नेत्र ज्योति संघको आजिवन सदस्यता खुल्ला गर्नुका साथै स्थानिय नागरिकको अस्पताल प्रतिको बढी दायित्व भएको हुँदा ५० प्रतिशत स्थानिय प्रतिनिधित्व हुनुपर्ने ।
४-केहि निहित व्यक्तिको उपस्थितिमा बनेको व्यवस्थापन समितिको औचित्यता माथि प्रश्न खडा भएको हुँदा तत्काल आजिवन सदस्य खुला संगै उक्त व्यवस्थापन समिति भंग गरि पुनः नयाँ कार्य समिति चयनको वातावरण बनाउनुका साथै उक्त समितिमा अध्यक्ष सहित ५० प्रतिशत स्थानिय सहभागिता हुनुपर्ने ।
५-आजिवन सदस्यता शुल्क साधारण नागरिकको पहुँच भन्दा माथि २५ हजार सुन्नमा आएको हुँदा उक्त सदस्यता शुल्क न्युनतम हुनुपर्ने ।
६-सुदूरपश्चिम कै प्रमुख आँखा अस्पताल भएको हुँदा पर्याप्त चिकित्सकहरुको आवश्यक्ता भएको हुँदा उक्त पदपूर्ति गर्नुपर्ने ।