धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गणतन्त्रले राज्य सञ्चालनमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेको बताएका छन् ।
१९औँ गणतन्त्र दिवसको अवसरमा प्रदेश राजधानी धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले संघीय शासन प्रणालीमार्फत केन्द्रमा रहेको अधिकार गाउँगाउँसम्म विस्तार भएको उल्लेख गरे। उनले गणतन्त्र नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताए।
मुख्यमन्त्री शाहले गणतन्त्र स्थापनापछि जनताको सार्वभौम अधिकार, आत्मसम्मान, समानता र लोकतान्त्रिक अपेक्षाको विजय भएको दाबी गरे।
उनले सुदूरपश्चिम प्रदेश प्राकृतिक स्रोत, जैविक विविधता, कृषि, पर्यटन, जलस्रोत, जडीबुटी तथा सीमापार व्यापारका हिसाबले अत्यन्त सम्भावनायुक्त रहेको उल्लेख गर्दै भारत र चीनजस्ता ठूला आर्थिक शक्तिसँगको भौगोलिक निकटताले लगानी र व्यापारका अवसर बढाएको बताए।
प्रदेश सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिँदै मुख्यमन्त्री शाहले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
उनले संघ, प्रदेश, स्थानीय तह, निजी क्षेत्र तथा नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आत्मनिर्भर र समुन्नत सुदूरपश्चिम निर्माणतर्फ सबैलाई एकजुट हुन आह्वान गरे।