काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले शुक्रबार जारी गरेको सूचनाअनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने सम्भावना रहेको छ। यस अवधिमा ती क्षेत्रमा मध्यम स्तरको तातो हावाको लहर चल्न सक्ने जनाइएको छ।
प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई उच्च सतर्कता अपनाउनुपर्ने सूचीमा राखेको छ। यस्तै कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अद्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा समावेश गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले पनि जेठ ६ गतेदेखि तराईका केही भू–भागमा तापक्रम तीव्र रूपमा बढिरहेको जनाएको छ। अत्यधिक गर्मीका कारण थकान, कमजोरी, धेरै तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांशपेसी दुख्ने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकहरूले बताएका छन्।
प्राधिकरणले चर्को घाम लाग्ने समयमा सकेसम्म घरभित्रै बस्न, बाहिर निस्कनै परे छाता वा हल्का कपडाले टाउको ढाक्न आग्रह गरेको छ।
साथै हल्का र खुकुलो कपडा लगाउने, प्रशस्त पानी पिउने, चिसो पानीले नुहाउने, कागती पानी तथा फलफूल सेवन गर्ने र धेरै पसिना आएमा जीवनजल पिउन सुझाव दिएको छ।
यसैगरी खेतबारी वा बाहिरी काम बिहान वा साँझको समयमा मात्रै गर्न, जंक फुड नखान तथा बालबालिकालाई चर्को घाममा खेल्न नदिन पनि आग्रह गरिएको छ।