कैलाली - गोदावरी नगरपालिका–१ स्थित अत्तरिया चोकमा पैदलयात्रीको सुरक्षालाई लक्षित गर्दै आधुनिक आकाशे पुल (Pedestrian Bridge) निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ।
लामो समयदेखि प्रतीक्षामा रहेको उक्त आयोजनाको शिलान्यास नगर प्रमुख वीरेन्द्र भट्टले विशेष समारोहबीच विधिपूर्वक पूजापाठ गर्दै गर्नुभएको हो।
अत्तरिया चोकलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले अत्तरिया चोक सुदूरपश्चिम प्रदेशकै अत्यन्त व्यस्त व्यापारिक तथा प्रवेशद्वार क्षेत्र भएको उल्लेख गर्दै बढ्दो सवारी चापका कारण पैदलयात्रीले भोग्दै आएको असुरक्षा न्यूनीकरण गर्न आकाशे पुल निर्माण गरिएको बताए।
उनका अनुसार यो पुल केवल पूर्वाधार विकासको योजना मात्र नभई अत्तरिया चोकलाई आधुनिक, सुरक्षित र व्यवस्थित सहरका रूपमा विकास गर्ने दीर्घकालीन योजनाको महत्वपूर्ण आधार हो।
१ करोड ४२ लाखभन्दा बढी लागत
गोदावरी नगरपालिका वडा नं. १ मा निर्माण हुने उक्त आकाशे पुलको कुल लागत मूल्य अभिवृद्धि कर (VAT) र प्रोभिजनल सम (PS) सहित रु. १ करोड ४२ लाख ८५ हजार ४ सय ९८.१४ रहेको छ।
नगरपालिकाले ठेक्का नं. GM/NCB/W/2082/83/14 मार्फत आयोजना अघि बढाएको हो। निर्माण जिम्मा ‘क्रीजल–त्रिनेत्र–सिद्धनाथ जेभी’ ले पाएको छ।
२०८३ पुसभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
सम्झौता अनुसार निर्माण कार्य २०८२ फागुन १० गते भएको हो भने आयोजना आगामी २०८३ पुस ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कम्पनीका प्रतिनिधिले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा अपेक्षा
अत्तरिया चोकमा दिनप्रतिदिन बढ्दै गएको सवारी साधनको चाप र पैदलयात्रीको अत्यधिक आवागमनका कारण दुर्घटनाको जोखिम बढ्दै आएको थियो। आकाशे पुल निर्माणपछि सडक पार गर्ने क्रममा हुने दुर्घटना न्यूनीकरण हुने, ट्राफिक व्यवस्थापन सहज हुने र बजार क्षेत्रको सौन्दर्यमा समेत सुधार आउने अपेक्षा गरिएको छ।
स्थानीयवासीको उत्साह
स्थानीय व्यवसायी तथा नगरवासीहरूले आकाशे पुल निर्माणलाई स्वागत गर्दै यसले अत्तरिया चोकलाई व्यवस्थित शहरी केन्द्रका रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
नगरपालिकाले निर्माण अवधिभर गुणस्तर अनुगमनलाई कडाइका साथ अघि बढाउने जनाएको छ।