सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका लागि आयोजना गरिएको ‘सुदूरपश्चिम कचहरी २०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ।
सुदूरपश्चिम विकास फाउण्डेसनका अध्यक्ष शेरबहादुर शाहीका अनुसार कार्यक्रमको उद्घाटन भोलि बिहान ९ बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्नेछन्। जेठ २ र ३ गते सञ्चालन हुने दुई दिने कार्यक्रममा प्रदेशको विकास, सम्भावना र समृद्धिका विषयमा विभिन्न नीतिगत बहस गरिनेछ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि, पूर्वाधार, सुरक्षित आप्रवासन तथा सुशासनका विषयमा केन्द्रित छलफल हुने बताइएको छ।
छलफलबाट प्राप्त सुझाव तथा निष्कर्षलाई नेपाल सरकारको आगामी बजेट तथा नीतिनिर्माण प्रक्रियामा समावेश गराउन केन्द्र सरकारसमक्ष पठाइने जनाइएको छ।
उद्घाटनपछि “सुदूरपश्चिम प्रदेशको सम्भावना र समृद्धि” विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र प्रदेशका प्रमुख सचिव बैकुण्ठ अर्यालबीच बहस हुनेछ। उक्त सत्रको सहजीकरण वरिष्ठ पत्रकार टिकाराम यात्रीले गर्नेछन्।
त्यसैगरी “सुदूरपश्चिमको स्वाभिमान, ऐतिहासिक विरासत र पहिचान” विषयमा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, उपकुलपति डा. टी.एन. जोशी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन राना, बासुदेव पाण्डे र यज्ञराज उपाध्यायबीच छलफल हुनेछ।
पहिलो दिनको अन्तिम सत्र “संघीयताको अभ्यास : अनुभव, चुनौती र सुधारको बाटो” विषयमा केन्द्रित रहनेछ। यसमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, दीर्घ सोडारी, संघीयता विज्ञ खिमलाल देवकोटा, सोमत घिमिरे र परशुराम उपाध्याय सहभागी हुनेछन्।
कार्यक्रमका सचिव पविन्द्र शाहीले सुदूरपश्चिममा गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, युवा पलायन र नीति कार्यान्वयनका चुनौती अझै कायम रहेको उल्लेख गर्दै ती विषयमा साझा बहस आवश्यक रहेको बताए।
उनका अनुसार कार्यक्रमबाट प्राप्त निष्कर्षका आधारमा सुदूरपश्चिमको दीर्घकालीन विकासका लागि व्यवहारिक सुझावसहित ‘सुदूरपश्चिम घोषणापत्र’ सार्वजनिक गरिनेछ।
दुई दिने कार्यक्रममा संघ, प्रदेश तथा स्थानीय तहका सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, नागरिक समाज, सञ्चारकर्मी तथा विज्ञहरूको सहभागिता रहनेछ।