महेन्द्रनगर — सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय ले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार ४६० फरार कैदीबन्दीलाई पक्राउ गरेको जनाएको छ।
प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्ट का अनुसार चैत मसान्तसम्म विभिन्न आपराधिक मुद्दामा सजाय तथा जरिवाना तोकिएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरिएको हो।
प्रहरीका अनुसार सबैभन्दा बढी कैलाली जिल्ला बाट ७३२ र कञ्चनपुर जिल्ला बाट ४१० जना पक्राउ परेका छन्। त्यसैगरी डडेल्धुरा जिल्ला बाट १०१, डोटी जिल्ला बाट १२, अछाम जिल्ला बाट ४३, दार्चुला जिल्ला बाट ७३, बैतडी जिल्ला बाट ९, बझाङ जिल्ला बाट ५८ र बाजुरा जिल्ला बाट २२ जना फरार कैदीबन्दी पक्राउ परेका छन्।
प्रवक्ता विष्टका अनुसार फरार प्रतिवादी पक्राउ गर्न प्रदेशका नौवटै जिल्लामा प्रहरी टोली परिचालित गरिएको छ। साथै, जेन-जी आन्दोलन का क्रममा कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न विशेष सक्रियता बढाइएको छ।
गत भदौ २३ र २४ गते भएको उक्त घटनामा प्रदेशका विभिन्न कारागारबाट कुल १,४५८ कैदीबन्दी फरार भएका थिए। तीमध्ये १,१२० जना पक्राउ परिसकेका छन् भने अझै ३३८ जना फरार छन्। प्रहरीले अधिकांश फरार कैदीबन्दी भारतमा लुकेर बसेको हुनसक्ने जनाएको छ।
यसैबीच कञ्चनपुर जिल्ला मा फरार प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही का अनुसार एक सातामा मात्रै ७६ जना फरार प्रतिवादी पक्राउ परेका छन्, जसमा अधिकांश लागूऔषध मुद्दाका छन्।