कैलालीको लम्कीचुहा–४ बलियामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरे ।
पूर्वी कैलालीका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सेवा कार्यालय स्थापना गरिएको जनाइएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार जनताप्रति उत्तरदायी र प्रभावकारी सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताए ।
उनले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सह-अस्तित्वमार्फत मात्र समग्र विकास सम्भव हुने उल्लेख गरे ।मुख्यमन्त्री शाहका अनुसार चालु आर्थिक वर्षमा यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ बराबरको बहुवर्षीय ठेक्का स्रोत सुनिश्चित गरेको छ।
साथै, लम्कीचुहा प्रादेशिक अस्पतालका लागि साढे ४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै उनले सो रकम चालु आर्थिक वर्षमै कार्यान्वयन गर्नुपर्ने बताए । आवश्यक परे अस्पताल सञ्चालनका लागि कानुनी दायराभित्र रही लचकता अपनाउन प्रदेश सरकार तयार रहेको उनको भनाइ छ ।
कार्यक्रममा उनले टीकापुरमा प्रस्तावित विज्ञान तथा प्राविधिक विश्वविद्यालय निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । आधुनिक प्रविधिको युगमा प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि यस्ता शैक्षिक संस्थाको भूमिका महत्वपूर्ण हुने उहाँले उल्लेख गरे ।
सेवा कार्यालय सञ्चालनमा आएसँगै लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, जानकी गाउँपालिका, टिकापुर नगरपालिका, जोशीपुर गाउँपालिका तथा बर्दगोरिया गाउँपालिकाका नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।
कार्यालय व्यवस्थापनका लागि स्थानीय झुप्रे रावतले पाँच वर्षका लागि आफ्नो घर निःशुल्क उपलब्ध गराएका छन ।