कैलाली — कैलाली उद्योग वाणिज्य संघले भारतबाट रु. १०० भन्दा बढी मूल्यका सामान आयात गर्दा अनिवार्य रूपमा भन्सार प्रक्रिया पूरा गर्नुपर्ने नेपाल सरकारको निर्णयलाई स्वागत तथा समर्थन गरेको छ।
संघले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयलाई सकारात्मक कदम भन्दै यसले स्वदेशी उद्योग, व्यापार र राजस्व प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
संघले सम्पूर्ण उपभोक्ता, व्यवसायी तथा सरोकारवालाहरूलाई नयाँ नियमको पूर्ण पालना गर्न आग्रह गर्दै यसले व्यापार प्रणालीलाई व्यवस्थित बनाउने, अवैध आयात नियन्त्रण गर्ने तथा राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने अपेक्षा गरेको छ।
त्यस्तै, आवश्यक वस्तु स्वदेशमै खरिद गर्न आह्वान गर्दै यसले रोजगारी सिर्जना, राजस्व वृद्धि तथा अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने जनाएको छ।
संघले भनेको छ, “सरकारको यो निर्णय दीर्घकालीन समाधानका लागि पर्याप्त छैन। परनिर्भरता घटाउन स्वदेशमै उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता छ।”
यसका साथै, खुला सीमाबाट हुने अवैध चोरी–निकासी नियन्त्रणका लागि भन्सार नाकासँगै सीमा क्षेत्रमा समेत कडाइ गर्न सरकारसँग माग गरिएको छ।
संघले व्यवसायीहरूलाई यो व्यवस्थालाई अवसरको रूपमा लिँदै उपभोक्तालाई गुणस्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराउन पनि आग्रह गरेको छ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकार, व्यवसायी र उपभोक्ता तीनै पक्षको सहकार्यले दीर्घकालीन लाभ पुग्ने विश्वास व्यक्त गरिएको छ।