सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले देशको सार्वभौमसत्ता र अखण्डताको रक्षामा नेपाली सेनाको अहम् भूमिका रहेको बताएका छन् ।
नेपाली सेना दिवसका अवसरमा धनगढीमा आयोजित एकता दौड कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मियाँले राष्ट्रिय सुरक्षाको मेरुदण्डका रूपमा नेपाली सेनाले निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरे । राष्ट्रमा आइपर्ने विभिन्न सङ्कट, विपद् तथा चुनौतीका समयमा सेनाले जनधनको सुरक्षा र शान्ति–सुव्यवस्था कायम गर्न प्रभावकारी भूमिका खेलेको उनको भनाइ थियो ।
उनले नेपाली सेना जनताको विश्वास, राष्ट्रको ढाल र गौरवको प्रतीक रहेको उल्लेख गर्दै जनतालाई केन्द्रबिन्दुमा राखेर देशका कुनाकाप्चामा जनहितका कार्य गर्दै आएको बताए ।
“आफ्नो ज्यानको परवाह नगरी जनरक्षाका लागि नेपाली सेना निरन्तर खटिरहेको छ,” उनले भने ।
प्रदेश प्रमुख मियाँका अनुसार सुरक्षित राष्ट्रको भावनालाई आत्मसात् गर्दै प्रदेश स्तरमा आयोजना गरिएको एकता दौडले सुदूरपश्चिम प्रदेशका जनतालाई नेपाली सेनाबारे अझ नजिकबाट जान्ने–बुझ्ने अवसर प्रदान गरेको छ ।
उनले एकता दौड केवल मनोरञ्जन मात्र नभई राष्ट्रिय एकताको प्रतीक रहेको उल्लेख गर्दै यसले जनतालाई एकसाथ अघि बढ्ने प्रेरणा दिएको बताए ।
सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरी ब्यारेकको आयोजनामा भएको कार्यक्रममा पृतनापति किरण केसीले स्वागत मन्तव्य व्यक्त गर्दै एकता दौडबारे जानकारी गराएका थिए ।
छात्र–छात्राको ५ किलोमिटर र १० किलोमिटर दौड प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने सहभागीहरूलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना, सुदूरपश्चिम प्रदेशका मुख्यन्यायाधिवक्ता ठेकेन्द्रराज जोशी लगायतको उपस्थिति रहेको थियो ।