गोदावरी नगरपालिका–२ मा रहेको ज्ञान ज्योति सेकेन्डरी स्कुलले आफ्नो २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।
कार्यक्रमका सभापति विद्यालयका प्रिन्सिपल जगबिर थापा रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्राज्ञ प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी सहभागी हुनुभएको थियो।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव यज्ञ हमाल, नास्ट कलेजका प्रमुख शिवहरी मुडभरी, प्याब्सन पूर्व प्रदेश अध्यक्ष दीपक चन्द, पूर्व केन्द्रीय सदस्य सिताराम बुढाथोकी, प्याब्सन प्रदेश सचिव तर्कराज भट्टराई लगायत विभिन्न विद्यालयका प्रमुख तथा संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा विद्यालयका आन्तरिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको विद्यालयले जनाएको छ। हाल उक्त विद्यालयमा कक्षा ८ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ।
६ जना सम्मानित
त्यस्तै विद्यालयले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा वरिष्ठ साहित्यकार निर्मल कुमार भण्डारी, सामाजिक अभियन्ता जानकी मलासी, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. नरेन्द्र बहादुर ऐर, पद्मा अस्पतालका प्रमुख डा. नर बहादुर मौनी, वरिष्ठ शिक्षक कमलापती जोशी तथा वरिष्ठ पत्रकार गोबिन्द रोस्यारा रहेका छन्। सम्मानित व्यक्तित्वहरूलाई विद्यालयले प्रमाणपत्र, खादा तथा मालासहित सम्मान गरेको हो।
कठिन अवस्था गुजारेर आजको दिन सम्म पुगेका हौं : थापा
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल जगबिर थापाले विद्यालय आजको अवस्थासम्म आइपुग्नुमा अभिभावक, शिक्षक तथा सरोकारवालाको महत्वपूर्ण सहयोग रहेको बताए ।
विद्यालयले शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलाप, विद्यार्थी सुरक्षा तथा स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै भौतिक संरचना विकासका लागि निरन्तर पहल भइरहेको जानकारी दिए।
यस वर्षदेखि विद्यालयले ईभी गाडी सेवा समेत थप गरेको उहाँले बताए । विद्यालयको समग्र विकासका लागि विद्यालय व्यवस्थापन समिति आगामी दिनमा थप सक्रिय हुने विश्वास व्यक्त गर्दै अभिभावकहरूलाई ढुक्क भएर आफ्ना नानीबाबुहरू विद्यालयमा पठाउन आग्रह गरे।