कैलाली जिल्लाको गोदावरी नगरपालिका–८ स्थित समैजी माध्यमिक विद्यालयमा एसईई परीक्षामा सफल विद्यार्थीहरूलाई बधाई, विद्यालय व्यवस्थापन समितिको विदाई र स्वागत, तथा शैक्षिक शुभकामनासहित विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिता चौधरीको अध्यक्षतामा तथा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रममा २०८१ सालको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बधाईसहित उज्वल भविष्यको शुभकामना व्यक्त गरियो। सो अवसरमा विद्यालयको पुरानो व्यवस्थापन समितिलाई सम्मान गरिँदै नवगठित समितिलाई प्रमाणपत्र वितरण गरी बधाई दिइएको थियो।
विद्यालयकी प्रधानाध्यापक विन्दु बलायरले यस वर्षको नतिजा विगतको तुलनामा उत्साहजनक रहेको बताउँदै ३१ जना विद्यार्थी उत्तीर्ण हुनु विद्यालयको शैक्षिक उन्नतिको संकेत भएको बताइन्। उनले विद्यालयमा अझै पनि भौतिक संरचनाको अभाव रहेको उल्लेख गर्दै गोदावरी नगरपालिकाबाट थप सहयोगको अपेक्षा गरिन्।
नगरप्रमुख बिरेन्द्र भट्टले विद्यालयको पूर्वाधार सुधारका लागि नगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताउँदै तल्लो जोनापुरदेखि माथिल्लो जोनापुरसम्म कालोपत्रे सडक निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
उनले समैजी माविसहित १३ विद्यालयमा स्मार्ट शिक्षा कार्यक्रम लागू भइसकेको जानकारी दिँदै सरकारी विद्यालयलाई संस्थागत विद्यालयसरहको गुणस्तरीय शिक्षालय बनाउने प्रतिबद्धता व्यक्त गरे।
भट्टले विज्ञान तथा गणित विषयमा शिक्षक अभाव देखिएको अवस्थामा नगरपालिकाले करार शिक्षकहरूको पारिश्रमिक वृद्धि तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरिएको जानकारी पनि दिए।
कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी, समाजसेवी तथा स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको थियो।