कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ बुढीतोलास्थित लक्ष्मी माध्यमिक विद्यालयमा ६१४औं बी.टी.सी. स्काउट आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
गोदावरी नगरपालिकाको आयोजना र नगर कार्यपालिकाको आर्थिक सहयोगमा सञ्चालित सो तालिम असार १५ देखि २० गतेसम्म ६ दिन र ५ रातसम्म सञ्चालन भएको थियो।
तालिममा सामुदायिक विद्यालयमा कार्यरत ३० जना शिक्षकहरूको सहभागिता रहेको थियो। उनीहरूले स्काउट सिद्धान्त, अनुशासन, विपद् व्यवस्थापन, समाज सेवा र नेतृत्व विकाससम्बन्धी ज्ञान हासिल गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टले स्काउट तालिमलाई अनुशासन, आत्मविश्वास र नेतृत्व विकासको स्रोत भन्दै “एक विद्यालय, एक स्काउट युनिट” अभियानलाई नगरपालिकाले अघि बढाइरहेको बताए। उपप्रमुख शारदा देवी रोकायाले स्काउट तालिमलाई जिम्मेवारी बोकेको जीवन उपयोगी सेवा भनेकी छिन्।
डिएसपी रणबहादुर चन्दले आपतकालीन परिस्थितिमा उद्धारमा लाग्नुपर्ने सन्देश दिँदै स्काउटहरूलाई अनुशासनमा रही समाजसेवामा लाग्न आग्रह गरे। शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले प्रत्येक विद्यालयमा स्काउट युनिट आवश्यक रहेको उल्लेख गरे।
समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रविन्द्र रोका मगर, विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिंह कठायत, वडा सदस्यहरू, स्थानीय समाजसेवी तथा छिमेकी पालिकाका स्काउट मास्टरहरूको समेत उपस्थिति रहेको थियो।
अन्त्यमा सहभागीहरूलाई ब्याज र प्रमाणपत्र प्रदान गरिएको थियो ।