कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नगर गान निर्माणदेखि स्मार्ट शिक्षा कार्यक्रमसम्मका विभिन्न योजना सार्वजनिक गरेको छ।
नगर प्रमुखको अध्यक्षतामा सार्वजनिक गरिएको नीतिमा पहिलोपटक गोदावरी नगरपालिकाको आफ्नै नगर गान तयार गरी लागू गर्ने घोषणा गरिएको छ। साथै, नगर शिक्षकहरुको मासिक तलबमा उल्लेखनीय वृद्धि गर्दै प्राथमिक तहका शिक्षकलाई रु. २,०००, निम्न माध्यमिकलाई रु. ३,००० र माध्यमिक तहका शिक्षकलाई रु. ४,००० थपिने भएको छ।
सामुदायिक विद्यालयमा कार्यरत प्रमुख अध्यापकहरूका लागि पनि मासिक प्रोत्साहन भत्ता क्रमशः रु. ४०० देखि रु. ७०० सम्म थपिने नितीमा उल्लेख छ। शिक्षण–सिकाइमा संलग्न अनुदान शिक्षकहरूलाई कल्याणकारी कोषमा समावेश गरिने बताइएको छ।
शिक्षाको गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षामा जोड दिइँदै IEMIS तालिम, स्मार्ट शिक्षा कार्यक्रम, ई-हाजिरी प्रणाली, र STEAM शिक्षाको प्रोत्साहन जस्ता कार्यक्रम अघि सारिएको छ। सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थी र विद्यालयलाई नगर शिक्षा पुरस्कार र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मार्फत प्रोत्साहित गरिनेछ।
बाल विकास केन्द्र, सामुदायिक सिकाइ केन्द्र र विद्यालयका सहायक कर्मचारीहरूको व्यवस्थापन, तलब सुविधा र तालिमको व्यवस्था पनि सुनिश्चित गरिनेछ। प्रारम्भिक बालविकास सहजकर्तालाई न्यूनतम पारिश्रमिक दिनेदेखि शिक्षण व्यवस्थापनलाई व्यवस्थित गर्न शिक्षक बैङ्कको व्यवस्था गर्ने योजना पनि नीति दस्तावेजमा उल्लेख छ।
शिक्षा मात्र नभई युवा लक्षित नवप्रवर्तन, महिला लक्षित आयोग तयारी कक्षा, र एक वडा एक खेलमैदान कार्यक्रम जस्ता योजनामार्फत सामाजिक तथा भौतिक पूर्वाधार विस्तारको संकेत गरिएको छ।