बारा – नेपालमा सलह कीरा प्रवेश गरेको छ । भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको हो ।
‘आज बिहान रूखमा सलह कीरा बसेको देखेपछि किसानहरूले हामीलाई खबर गर्नुभएको हो,’ कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले भने, ‘अहिले हामी फिल्डमा छौं । यहाँ सलहका चार वटा झुण्ड रहेछ ।’
उनले सलह कीरा नेपालमा देखिएकोबारे कृषि मन्त्रालयमा जानकारी गराइएको बताए । यादवका अनुसार बारा जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिकामामा सलह देखिएका छन् ।
मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले सलह नेपाल प्रवेश गरेकोबारे सूचना आए पनि यसको पुष्टि भइनसकेको बताए । यसअघि नेपालमा सलह प्रवेश गर्न सक्ने भन्दै मन्त्रालयले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरेको थियो ।
अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो ।
सलह फट्याङ्ग्रा वर्गको कीरा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ । यसले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पु¥याउँछ ।
सलह कीरा करोडौंको संख्यामा हुन्छन् । यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । यो कीराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुने गर्छ ।