काठमाडौं : वन तथा वातावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको असारसम्म किसानलाई करिब ६ लाख मेट्रिकटन रासायनिक मल उपलब्ध गराइने प्रतिबद्धता जनाएकी छन्।
बुधबार प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यो परिमाण अहिलेसम्मकै सबैभन्दा बढी आपूर्ति हुने दाबी गरिन्।
उनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७ सय ६२ मेट्रिकटन मल आपूर्ति भइसकेको छ। त्यसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिकटन किसानलाई बिक्री भइसकेको छ भने बाँकी मल गोदाममा तथा वितरण प्रक्रियामा रहेको छ।
मन्त्री चौधरीले गोदाममा रहेको, भित्रिएको तर इन्ट्री हुन बाँकी तथा मौज्दात गरी कुल करिब १ लाख ४४ हजार ५ सय ८५ मेट्रिकटन मल रहेको जानकारी दिइन्।
उनका अनुसार मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मल उत्पादन र आपूर्तिमा समस्या देखिएको छ भने अन्तर्राष्ट्रिय बजारमा मूल्य पनि बढिरहेको छ।
“आगामी असारसम्म करिब ६ लाख मेट्रिकटन मल किसानलाई उपलब्ध गराइनेछ,” मन्त्री चौधरीले भनिन्।
उनले चालु र आगामी आर्थिक वर्षको बजेटमार्फत खर्च हुने गरी सम्झौता भएको करिब १ लाख ८७ हजार मेट्रिकटन मल आपूर्तिमा ढिलाइ भएको पनि स्वीकार गरिन्।
धान रोपाइँको समयमा मल अभाव हुन नदिन आपूर्तिकर्तालाई समयमै आपूर्ति गर्न मन्त्रालयले ताकेता गरिरहेको उनले बताइन्।
भारतसँग सरकारी–सरकारी (G2G) प्रक्रियामार्फत ५० हजार मेट्रिकटन मल खरिद गर्ने निर्णय भइसकेको र त्यसअनुसार प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिइन्।