राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी परिणाम, संसद्को संख्या र युवा नेतृत्वको मन्त्रिपरिषद्ले मात्रै मुलुकले वर्षौंदेखि देखेको सपना पूरा नहुने बताएका छन्।
बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सपना पूरा गर्न सरकारले परिणाममुखी काम गर्नुपर्ने बताए।
सरकार गठन भएको चार महिना बितिसक्दा पनि सडकमा सरकारविरुद्धको आवाज कम नभएको उल्लेख गर्दै उनले सरकारलाई अब परिणाम देखाउने चुनौती थपिएको बताए।
‘चुनावको नतिजाले मात्रै, संसद्को संख्याले मात्रै र क्याबिनेटको युवा नेतृत्वले मात्र हामीले वर्षौंदेखि देखेको सपना पूरा हुँदैन, त्यसका लागि हामीले काम गर्नुपर्ने हुन्छ,’ उनले भने।
माइतीघरमा अझै भीड देखिएको प्रसंग उल्लेख गर्दै लामिछानेले नागरिक निराश भएर सडकमा आएका हुन् वा विरोध गर्ने बानी परिसकेको हो भन्ने छुट्याउन कठिन भएको बताए।
उनले समाजमा तत्काल परिणाम खोज्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसले नागरिकमा छिट्टै निराशा पैदा गर्न सक्ने बताए। नागरिकमा निराश हुने बानी बस्दै गए कुनै पनि सरकारले तत्काल सन्तुष्ट पार्न नसक्ने उनको भनाइ थियो।
लामिछानेले रास्वपाले संसद्मा उमेर समूहको मात्र नभई युवा पुस्ताको विचारको प्रतिनिधित्व गर्ने कुरामा सचेत रहेको बताए।
आफूहरू विकल्प खोज्न नभई विकल्प बन्न राजनीतिमा आएको दाबी गर्दै उनले अनुभवविहीन राजनीतिबाट केही हुन सक्दैन भन्ने भाष्य पनि गलत रहेको बताए।