नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी २९ देखि ३१ साउनसम्म काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा प्रदेशदेखि प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्मका पार्टी सभापतिहरूलाई निम्तो दिएको छ।
भेला संयोजक डा. शशांक कोइरालाले सात प्रदेश सभापति, ७७ जिल्ला सभापति र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिका सभापतिलाई पत्र पठाउँदै भेलामा सहभागी हुन आग्रह गरेका छन्।
पत्रमार्फत सम्बन्धित क्षेत्रमा रहेका पार्टीका वर्तमान तथा पूर्वनेतृत्वलाई समेत भेलामा सहभागी गराउन आग्रह गरिएको छ। पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका नेताहरूको राय तथा सुझाव संकलन गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको जनाइएको छ।
भेलामा महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री, सांसद तथा प्रदेशसभा क्षेत्रीय समितिका पदाधिकारीहरूलाई समेत सहभागी गराइनेछ।
त्यस्तै, महानगरपालिका, नगरपालिका तथा गाउँपालिका समितिका सभापतिहरूलाई पनि भेलामा सहभागी गराउने वातावरण बनाउन सम्बन्धित क्षेत्रका नेतृत्वलाई आग्रह गरिएको छ।
संस्थापनइतर समूहले भेलामार्फत पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा तल्लो तहका नेताहरूको धारणा समेत लिने तयारी गरेको छ।