सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेशसभाको सोमबार राति ११ः४५ बजे बसेको बैठकमा बजेट प्रस्तुत गरेका हुन्।
सरकारका अनुसार बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ, संघीय रोयल्टीबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै, वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान तथा चालु आवको बचत रकम समेत बजेटका प्रमुख स्रोत रहने सरकारको भनाइ छ।
यद्यपि, प्रस्तुत बजेटमा चालु खर्च र पुँजीगत खर्चतर्फ कति रकम विनियोजन गरिएको छ भन्ने विवरण सार्वजनिक गरिएको छैन।
बजेट प्रस्तुत हुनु अघि प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। सरकारले समयमै बजेट ल्याउन नसकेको आरोप लगाउँदै प्रतिपक्षी सांसदहरूले बैठक बहिष्कार गरेका थिए।
यसैबीच, बजेट बाँडफाँटलाई लिएर सत्तारुढ दलभित्रकै असहमति का कारण बजेट सार्वजनिक गर्न ढिलाइ भएको बताइएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको थियो।