काठमाडौं - शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको छ।
शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बिहीबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो।
प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा गठन भएको समितिमा प्रा.डा. लोचना श्रेष्ठ र दिनेश लम्साल सदस्य रहेका छन्। विश्वविद्यालय ऐनको दफा २५ बमोजिम समिति गठन गरिएको जनाइएको छ।
यसअघि पनि प्रा.डा. जयराज अवस्थीकै संयोजकत्वमा सिफारिस समिति गठन गरी उपकुलपति र रजिस्ट्रार नियुक्त गरिएको थियो।
त्यसैगरी, सरकारले ल्याएको ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश’ मार्फत विश्वविद्यालयको ऐनमा महत्वपूर्ण संशोधन गरिएको छ।
संशोधनअनुसार उपकुलपति र रजिस्ट्रारको कार्यकालसम्बन्धी प्रावधान हटाइएको छ भने उमेर सीमा सम्बन्धी व्यवस्था समेत खारेज गरिएको छ।
त्यस्तै, पदाधिकारी हटाउने प्रक्रिया सम्बन्धी दफा पनि ऐनबाट पूर्ण रूपमा हटाइएको छ। नयाँ संशोधनले विश्वविद्यालयको नेतृत्व चयन प्रक्रियामा महत्वपूर्ण परिवर्तन ल्याएको छ।