चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह (आमरण अनशन) सुरु गर्ने घोषणा गरेका छन्।
दार्चुलाबाट बुधबार जारी प्रेस विज्ञप्तिमार्फत उनले सरकारलाई जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षा सुधारका विषयमा साउन ५ गतेसम्म दिएको समयसीमा पूरा नभएको भन्दै सत्याग्रहमा बस्ने निर्णय सार्वजनिक गरेका हुन्। यद्यपि, उनी कहाँ सत्याग्रहमा बस्ने भन्ने विषय अझै टुंगो लागेको छैन।
डा. केसीले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेका छन्। उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा स्वार्थको द्वन्द्व हुने गरी गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्ति तत्काल बदर गर्न र चिकित्सा शिक्षा ऐनका विवादित प्रावधान शीघ्र संशोधन गर्न माग गरेका छन्।
सरकारले हालै चिकित्सा शिक्षा आयोगमा प्राध्यापक देवेन्द्र खत्रीलाई नियुक्त गरेको छ। उनी नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिए। त्यस्तै, प्राध्यापक सुनिलकुमार जोशीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरिएको छ।
त्यसैगरी, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक मापदण्ड र पूर्वाधारबिना निजी मेडिकल कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्ताव तत्काल खारेज गर्नुपर्ने उनको माग छ। चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउन कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन्।
डा. केसीले विगतमा सरकारसँग भएका सबै लिखित सहमतिहरू कार्यान्वयन गर्नुपर्ने माग दोहोर्याएका छन्। साथै, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकले स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गरी आवश्यक पूर्वाधार र सेवा विस्तार गर्नुपर्ने बताएका छन्।
उनले २०८२ साल भदौ २३ र २४ गते भएका हत्या, आगजनी, लुटपाट र तोडफोडका घटनाका दोषीलाई कडा कारबाही गर्न तथा २०४६ सालयता उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीमाथि लागेको भ्रष्टाचार र अपराधका आरोपको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न पनि माग गरेका छन्।
डा. केसी यसअघि पनि चिकित्सा शिक्षा सुधार र स्वास्थ्य क्षेत्रका मुद्दा उठाउँदै करिब दुई दर्जन पटक आमरण अनशन बसिसकेका छन्।