महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरणको अभाव हुँदा मिर्गौला पीडित बिरामीले सहज रूपमा डायलाइसिस सेवा पाउन सकेका छैनन्। सीमित स्रोतसाधनका कारण अस्पतालमा डायलाइसिस गराउँदै आएका बिरामीलाई नियमित सेवा दिन समस्या भइरहेको छ।
मिर्गौला पीडितले सामान्यतया सातामा दुई पटकसम्म डायलाइसिस गर्नुपर्ने भए पनि बिरामीको चापअनुसार अस्पतालमा उपलब्ध जनशक्ति र उपकरण पर्याप्त नहुँदा पालो कुर्नुपर्ने अवस्था रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) जगदीश जोशीले बताए।
“हामीसँग चार जना स्टाफ नर्स भए भोलिदेखि नै रातिको सिफ्टमा समेत डायलाइसिस सेवा सञ्चालन गर्न सक्छौँ,” जोशीले भने, “अहिले कार्यरत जनशक्ति पनि पर्याप्त छैन। सीमित उपकरण छन्, तर बिरामीको चाप धेरै छ।”
मेसु जोशीका अनुसार अस्पतालले हाल दुई सिफ्टमा डायलाइसिस सेवा सञ्चालन गरिरहेको छ। शय्या अभावका कारण २५ जनासम्म बिरामी पालो कुरेर बस्नुपर्ने अवस्था रहेको उनले बताए।
“अहिले १० वटा बेड उपलब्ध छन्, जसमध्ये ९ वटा सञ्चालनमा छन्। एउटा मेसिन इमर्जेन्सीका लागि ब्याकअपमा राख्नुपर्ने हुन्छ,” उनले भने, “आवश्यक उपकरण र जनशक्ति अभाव हुँदा सहज रूपमा सेवा दिन सकिएको छैन।”
महाकाली अस्पतालमा दैनिक करिब २५ जना बिरामी डायलाइसिस सेवा लिन आउने गरेका छन्। डायलाइसिसका लागि आउने बिरामीको संख्या बढ्दै गए पनि आवश्यक उपकरण, शय्या र जनशक्ति अभावका कारण उपचार व्यवस्थापनमा चुनौती देखिएको छ।
यसैबीच, सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गर्दै प्रदेशका अस्पतालमा डायलाइसिस शय्या थप गरी मिर्गौला रोगीको उपचारमा पहुँच बढाउने निर्णय गरेका थिए।
तर, अस्पताल प्रशासनले शय्या थप्दैमा मात्रै समस्या समाधान नहुने जनाएको छ। शय्यासँगै आवश्यक जनशक्ति र उपकरणसमेत थप गर्नुपर्ने अस्पतालको भनाइ छ।
“शय्या थपेर मात्रै हुँदैन, आवश्यक जनशक्ति र उपकरण पनि थप्नु आवश्यक छ,” मेसु जोशीले भने, “हामीसँग भौतिक संरचना छ। शय्या र जनशक्ति थप भए रातिको समयमा समेत सेवा सञ्चालन गर्न सक्छौँ।”
महाकाली प्रादेशिक अस्पतालमा डायलाइसिसका लागि पालो नपाउँदा बिरामीहरू उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था अझै कायम रहेको अस्पतालले जनाएको छ।
— रासस