धनगढी : नवजीवन सहकारी संस्था लिमिटेड धनगढीको ३२औँ साधारण सभामार्फत चयन हुने नयाँ कार्य समिति नेतृत्वका लागि घन बहादुर शाह नेतृत्वको प्यानल घोषणा गरिएको छ।
“हाम्रो समृद्धि, हाम्रो एकताबाट सम्भव छ” भन्ने नारासहित बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्यानल सार्वजनिक गरिएको हो। सो अवसरमा प्यानलले आफ्ना प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ।
प्यानलमा सामाजिक, सहकारी तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरू समावेश रहेका छन्। अध्यक्ष पदका लागि घन बहादुर शाह उम्मेदवार बनेका छन्। शाह लामो समयदेखि पत्रकारिता , सामाजिक संघ संस्था र सहकारी क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्ति हुन्।
यस्तै उपाध्यक्ष पदका उम्मेदवारहरूमा ईश्वर प्रसाद जोशी रहेका छन् । उक्त समुहमा सदस्य पदमा दीर्घ बहादुर शाह, धनन्जय भट्ट, प्रतिमा भट्ट पाण्डे, लक्ष्मी नारायण चौधरी, विक्रम विश्वकर्मा, विश्वनाथ ओझा र शिव कुमार जोशी फुलारा रहेका छन्।
उम्मेदवारहरूले सहकारीलाई पारदर्शी, सदस्यमुखी र दिगो विकासको लक्ष्यसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संस्थागत सुशासन, सदस्य हित तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने उनीहरूको भनाइ छ।
प्यानलले “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने सन्देशलाई पनि आफ्नो मुख्य एजेण्डा बनाएको जनाएको छ। निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले सदस्यहरूसँग भेटघाट तथा प्रचारप्रसारलाई तीव्र बनाएका छन्।
नवजीवन सहकारी संस्था यस क्षेत्रकै ठूलो सहकारी संस्थामध्ये एक मानिन्छ। संस्थामा झन्डै ४० हजारभन्दा बढी शेयर सदस्य रहेका छन्।