जेठ ९ गते हुने नवजीवन सहकारी संस्थाको संचालल समिति निर्बाचनमा केशवराज मिश्र समुहको प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त समूहले सहकारीलाई पारदर्शी, सदस्य केन्द्रित र उत्तरदायी बनाउने उद्देश्यसहित विस्तृत योजना सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै प्यानलले सहकारीलाई केवल वित्तीय संस्थाका रूपमा नभई सदस्यको आर्थिक सुरक्षा र सामाजिक विकासको माध्यमका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। “सहकारी बचतकर्ताको भविष्य हो, सञ्चालक र तिनका परिवारको पेवा होइन” भन्ने मूल नारासहित सुधारका योजना अघि सारिएको हो।
प्यानलले सहकारीलाई “सदस्यद्वारा सञ्चालित” बनाउने लक्ष्यसहित सहकारी शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यसमार्फत शेयर सदस्यहरूको सक्रिय सहभागिता बढाइने र निर्णय प्रक्रियामा उनीहरूको भूमिका सुनिश्चित गरिने बताइएको छ।
खराब कर्जाको व्यवस्थापनका लागि विशेष छानबिन समिति गठन गरी फाइलहरूको अध्ययन र फछ्र्यौट गरिने योजना छ। साथै स्थिर सम्पत्तिमा गरिएको लगानीको पुनरावलोकन गर्न अर्को समिति गठन गरी अध्ययन गरिने प्रतिबद्धता पनि गरिएको छ।
सहकारीको वास्तविक आर्थिक अवस्था, कारोबार र जिम्मेवारी स्पष्ट देखिने गरी श्वेतपत्र जारी गरिने र सञ्चालक, पदाधिकारी तथा व्यवस्थापन तहका कर्मचारीको सम्पत्ति विवरण एक महिनाभित्र सार्वजनिक गरिने घोषणा गरिएको छ।
सदस्य संरचना र बचत प्रणालीमा सुधार
‘१ घर १ सदस्य’ अवधारणा लागू गर्दै निष्क्रिय र निर्वाचन लक्षित सदस्यहरू घटाई सक्रिय सदस्यहरू मात्र रहने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। साथै सदस्यहरूलाई साना–साना बचत गर्ने अभ्यासमा प्रोत्साहन गरिने बताइएको छ।
यस्तै उक्त समुहले कर्मचारी भर्ना प्रक्रिया, तहबृद्धि र सेवा प्रणालीलाई पूर्ण रूपमा पारदर्शी बनाइनेछ। कर्मचारीको दक्षता र व्यावसायिकता अभिवृद्धिका लागि नियमित तालिम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
सेवाग्राहीसँग मर्यादित व्यवहार सुनिश्चित गर्न “म तपाईंलाई के सहयोग गर्न सक्छु?” भन्ने सेवा संस्कृतिको विकास गरिने तथा प्रत्येक कार्यालयमा ‘सहकारी सहजकर्ता’ सहितको हेल्प डेस्क स्थापना गरिने योजना छ।
अध्यक्षका उम्मेदवार केशबराज मिश्रले सदस्यहरूलाई उत्पादनसँग जोड्न ‘नमुना नवजीवन उद्योग ग्राम’ स्थापना गरिने योजना अघि सारिएको बताए । साथै स्वरोजगार सिर्जना गर्न सीपमूलक तथा व्यवसायिक तालिम सञ्चालन गरिने उनको भनाइ छ ।कृषि क्षेत्रलाई सशक्त बनाउन मल र बीउबिजन सेवा विस्तार गरिने तथा विभिन्न स्थानमा सेवा केन्द्र स्थापना गरिने प्रतिबद्धता पनि गरिएको छ।
स्वास्थ्य सेवामा विशेष सुविधा
सदस्यहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उपचार खर्च सेवा वृद्धि गरिनेछ। विशेष गरी महिला सदस्यहरूको स्त्री तथा प्रसूती रोग उपचारमा थप सुविधा उपलब्ध गराइने र निःसन्तान उपचार (IVF) का लागि अतिरिक्त आर्थिक सहयोग प्रदान गरिने योजना छ।
त्यसैगरी मधुमेह, उच्च रक्तचाप, थाइराइड लगायत दीर्घ रोगको उपचारका लागि नवजीवन सहकारी क्लिनिक स्थापना गर्ने प्रस्ताव पनि गरिएको छ। उक्त समुहमा उपाध्यक्षमा उपेन्द्र बिस्ट उम्मेदवार बनेका छन् ।