आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका २ हजार १९९ मतदान केन्द्रमा १५ हजार ३९३ कर्मचारी परिचालन गरिने भएको छ। प्रत्येक मतदान केन्द्रमा अधिकतम सात जनासम्म कर्मचारी खटाउने गरी व्यवस्थापन गरिएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ।
कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतदान केन्द्रमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी तथा स्वयंसेवक परिचालन गरिनेछ। उनले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीसँगै सरकारी स्वामित्वका कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई समेत जिम्मेवारी दिइने जानकारी दिए। आवश्यक परे शिक्षकहरूलाई पनि परिचालन गर्ने तयारी रहेको उनले बताए।
प्रदेशका ९ जिल्लामा कर्मचारी परिचालनको संख्या पनि निर्धारण गरिएको छ। कैलालीमा ४ हजार ४८७, कञ्चनपुरमा २ हजार ५२०, अछाममा १ हजार ४९१, डोटीमा १ हजार २६०, दार्चुलामा १ हजार १, डडेलधुरामा ९८७, बाजुरामा ८२६, बझाङमा १ हजार ३२३ र बैतडीमा १ हजार ४९८ कर्मचारी खटाइने छन्।
प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन आयोगका अनुसार सुदूरपश्चिममा कुल मतदाता संख्या १७ लाख १६ हजार ६६० पुगेको छ। तीमध्ये ८ लाख ६४ हजार ४२३ महिला र ८ लाख ५२ हजार २१९ पुरुष मतदाता रहेका छन्। पछिल्लो मतदाता नामावली अद्यावधिकका क्रममा ४६ हजार २० नयाँ मतदाता थपिएका थिए।