कैलालीको चुरे गाउँपालिकामा वन फँडानी तथा काठ तस्करीको घटना फेरि दोहोरिएको छ।
विशेष सुराकीका आधारमा डिभिजन वन कार्यालय धनगढीको टोलीले ठूलो परिमाणमा अवैध रूपमा काटेर चिरान गरिएको सालको काठ बरामद गरेको छ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख डिभिजनल वन अधिकृत रामविचारी ठाकुरको नेतृत्वमा खटिएको टोलीले शुक्रबार बेलुका चुरे गाउँपालिका–२ स्थित रानी भुकुडा क्षेत्रको झरना सामुदायिक वन भित्र छापा मार्दा करिब २०० वटा चिरान गरिएका सालका कडी, फन्टा तथा फ्रेम फेला पारेको हो।
वन अधिकृत ठाकुरका अनुसार तस्करहरूले वनभित्रै हरिया सालका रुख काटेर तत्काल चिरान गरी लुकाएर राखेको अवस्थामा २०० क्युफिट काठ बरामद गरिएको हो।
प्रारम्भिक अनुगमनका क्रममा अधिकांश रुख हरियै अवस्थामा काटिएको पाइएको छ, जसले संगठित रूपमा वन विनाश भइरहेको संकेत गर्छ।
बरामद कार्यमा खैराला सब–डिभिजन वन कार्यालयका वन अधिकृत समीर थापा, रेन्जर नवराज पाध्या तथा सशस्त्र वन रक्षकहरूको टोली सक्रिय रूपमा खटिएको थियो। टोलीले काठसँगै प्रयोग भएका औजार तथा तस्करीसँग सम्बन्धित थप प्रमाण संकलन गरिरहेको जनाएको छ।
डिभिजन वन कार्यालयका अनुसार सो क्षेत्रमा अझै थप काठ लुकाइराखिएको हुनसक्ने आशंकामा खोजतलास तथा निगरानीलाई निरन्तरता दिइएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि अनुसन्धान अघि बढाइएको वन प्रशासनले जनाएको छ।
पछिल्लो समय चुरे आसपासका क्षेत्रहरू काठ तस्करहरूको अखडा बन्दै गएको भन्दै वन प्रशासन चिन्तित देखिएको छ। चुरे क्षेत्र पर्यावरणीय दृष्टिले संवेदनशील भएकाले यहाँ भइरहेको अवैध कटानीले भू–क्षय, पहिरो र वातावरणीय असन्तुलन निम्त्याउने खतरा बढ्दै गएको विज्ञहरू बताउँछन्।
यसैबीच, वन प्रशासनले चुरे क्षेत्रमा गस्ती, निगरानी र आकस्मिक छापामार अभियान कडा बनाइएको जनाएको छ।