आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ४१ वटा मतदान स्थल थपिएका छन् ।
पहिले सुदूरपश्चिममा एक हजार १३५ मतदान स्थल रहेकामा यसपालिको निर्वाचनका लागि ४१ मतदान स्थल थपिएको प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिए । सबैभन्दा बढी २४ मतदान स्थल डडेलधुरामा थप भएका छन् । हाल १०४ मतदान स्थल कायम गरिएको छ । यस्तै ७० मतदान स्थल रहेको बाजुरामा पाँच मतदान स्थल थपिएका छन् ।
त्यस्तै डोटीमा तीन मतदान स्थल थपेर ११८ कायम गरिएको छ । कैलालीमा दुई स्थल थपेर २३७ मतदान स्थल कायम गरिएको छ भने दार्चुलामा दुई मतदान स्थल थपेर ११२ कायम गरिएको छ । बझाङ, कञ्चनपुर र अछाममा भने मतदान स्थलमा थपघट भएको छैन । बझाङ १३३, अछाममा १३०, कञ्चनपुरमा १३२ मतदान स्थल रहेका निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
मतदाताको सङ्ख्या १७ लाख
सुदूरपश्चिम कुल मतदाता सङ्ख्या १७ लाख १५ हजार ७६० पुगेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कैलालीमा पाँच लाख ५१ हजार ५२, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५, बैतडीमा एक लाख ५६ हजार ३७२ र दार्चुलामा ९२ हजार ९४८ मतदाता रहेका छन् ।
यस्तै डडेलधुरामा ९३ हजार ४०३, बझाङमा एक लाख २६ हजार ९०३, अछाममा एक लाख ६५ हजार ३३७, डोटीमा एक लाख २८ हजार ३९९ र बाजुरामा ८६ हजार ९६१ गरेर जम्मा सुदूरपश्चिममा कुल मतदाता सङ्ख्या १७ लाख १५ हजार ७६० पुगेको प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।
जसमा पुरुष आठ लाख ५१ हजार ३१९ र महिला आठ लाख ६४ हजार ४२३ रहेका छन् भने अन्य १८ जना रहेका छन् । २०७९ को निर्वाचनमा प्रदेशमा मतदाताको सङ्ख्या १६ लाख ६९ हजार ४११ रहेको थियो ।