कैलालीको अत्तरियामा जारी ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव’मा शनिबार दर्शकको उल्लेख्य ओइरो लागेको छ।
अत्तरियाको पूर्वरोडस्थित खुला मैदान दर्शकले खचाखच भरिएको थियो। दर्शकको भीड अत्यधिक बढेपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो।
मौसम खराबीका कारण साँझसम्म महोत्सव स्थलमा नपुगेका र्यापर सुदीप भण्डारी (जिबब) नआएपछि उनका फ्यानहरू आक्रोशित बनेका थिए। यद्यपि, जिबबले भिडियो सन्देशमार्फत आफू सुर्खेत हुँदै अत्तरिया आउँदै गरेको जानकारी दिएका थिए।
आयोजक संस्था न्यु सृजनशील युवा क्लबका अध्यक्ष नरबहादुर राईले जिबब चढेको विमान धनगढी पुगेर फर्किनुपरेका कारण समस्या आएको स्पष्ट पार्दै भने,
“हामी दर्शकको भावनाको कदर गर्छौं। मौसमले धोका दियो, तर पनि जिबब भोलिको कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन्।”
उनले भोलि पनि महोत्सवमा सहभागी भइदिन सबै दर्शकलाई आग्रह गरे। शनिबारको कार्यक्रममा कलाकार दिर्घराज फुलारा, डान्सर आरुशी मगर, किशोर पाण्डे ‘सोल्टा’ लगायतले आकर्षक प्रस्तुति दिएका थिए। महोत्सवमा दर्शकको भीडसँगै भित्रको व्यापार पनि बढेको देखिएको छ। शनिबार थारु गाउँमा समेत उल्लेख्य भीड लागेको थियो।
आयोजकका अनुसार महोत्सवको भोलिको कार्यक्रममा गायक हिमाल सागर र मोडल भूमिका गिरी लगायतको प्रस्तुति रहनेछ। महोत्सवको उद्घोषण केपी कलौनी र संगीता बुढाले गरिरहेका छन्।