नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ।
फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि हात पारेको हो। सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेतामा सिमित बने।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा ८५ रन बनाउँदै अलआउट भयो। यो एनपीएलमा हालसम्म पहिलो इनिङ्समा बनेको सबैभन्दा कम रन हो।
लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाउँदै ८६ रनको लक्ष्य पूरा गरी उपाधि सुरक्षित गर्यो। ओपनर दिनेश अधिकारीले १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै आक्रामक पारी खेले। निरोशन डिकवेला १६ रन र दिलिप नाथ १ रनमा अविजित रहे।
सुदूरपश्चिम रोयल्सका लागि हेमन्त धामीले २ विकेट लिए भने अभिनाश बोहोरा र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए। लुम्बिनी लायन्सको बलिङमा कप्तान रोहित पौडेल, रुबेन ट्रम्पलमेन र शेर मल्लले समान ३–३ विकेट लिए।