कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियास्थित सत्यवती एकेडेमी ले आगामी मङ्सिर २९ गतेदेखि ‘प्रथम सत्यवती छात्र फुटबल कप २०८२’ आयोजना गर्ने भएको छ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी हुने उक्त प्रतियोगिताका लागि अन्तिम टिम दर्ता मिति मङ्सिर २४ गते तोकिएको विद्यालयले जनाएको छ। विद्यालयले जारी गरेको सूचनाअनुसार टिम दर्ता शुल्क रु १५०० राखिएको छ।
खेल प्रतिस्पर्धा विद्यालयको मुख्य खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम हुने टीमले नगद रु २० हजार ट्रफी तथा मेडल, द्वितीय हुनेले नगद रु १० हजार ट्रफी तथा मेडल प्रदान गरिने छ।
उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्लेयर अफ द टुर्नामेन्ट लगायतका पाँच विधामा पनि विशेष अवार्ड प्रदान गरिने विद्यालयले जनाएको छ।
विद्यालयले विद्यार्थीहरूमा खेलप्रति रुचि बढाउन, स्वास्थ्य तथा नेतृत्वक्षमता विकास गर्न र विद्यालय–विद्यालयबीच सद्भाव बढाउन प्रतियोगिता आयोजना गरिएको जनाएको छ।