लगातार छैटौं जित निकाल्दै साबिक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग(एनपिएल)को क्वालिफायर १ मा स्थान पक्का गरेको छ।
बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पाखा लगाएको हो।
सुदूरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १२० रन जोड्न सक्यो।
टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले अस्ट्रेलियन ब्याटर क्रिस लिनको अर्धशतकीय पारी र अन्तिम ओभरहरुमा कप्तान दीपेन्द्रसिंह ऐरि र आरिफ शेखको बलियो साझेदारीप्रेरित २० ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १६९ रनको योगफल खडा गरेको थियो ।
लिनले ५६ बलमा पाँच चौका र तीन छक्कासहित ७५ रनको सानदार पारी खेले । ९२ रन हुँदा चौथो विकेट गुमाएको सुदूरपश्चिमका लागि ऐरि र आरिफले पाँचौं विकेटका लागि ७७ रनको साझेदारी गरे । आरिफ र ऐरि समान २४ रनमा अविजित रहे । त्यस्तै विनोद भण्डारीले २१ र पुनीत मेहराले १३ रन जोडे ।
योसँगै सुदूरपश्चिमले ६ खेलबाट १२ अंक पुर्याएको छ।