कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेशका पर्यटन सम्भावना, चुनौती र प्रवर्द्धनका उपायबारे बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघको आयोजना तथा होटल व्यवसायी संघ सुदूरपश्चिम र गोदावरी होटल व्यवसायी संघको सहयोगमा शनिबार कार्यक्रम सम्पन्न गरिएको हो।
महासंघका अध्यक्ष दिनेश कुमार चुकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिमका सचिव दीर्घनारायण कोइराला प्रमुख अतिथि तथा नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्र देव भट्ट विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा सहभागीहरूले सुदूरपश्चिमका पर्यटकीय सम्भावनालाई उपयोग गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। चेम्बर अफ कमर्स सुदूरपश्चिमका अध्यक्ष विनोद मल्लले पर्यटकको सहजीकरणका लागि सरकार जिम्मेवार र सक्रिय हुनुपर्ने बताए। उनले पूर्वाधार विकासदेखि सेवा सुविधाको व्यवस्थापनसम्मका पक्षलाई सुदृढ गर्नुपर्नेमा जोड दिए।
महासंघकी उपाध्यक्ष धनादेवी चोखालले होटल तथा पर्यटन क्षेत्र एक–अर्काका परिपूरक भएकाले दुवै क्षेत्रमा समान ध्यान दिनुपर्ने बताइन्। महासंघका सल्लाहकार परमानन्द भण्डारीले सिपमूलक कार्यक्रमहरू उपलब्धीमुखी बन्नुपर्ने र प्रदेश सरकार सक्रिय हुनुपर्ने सुझाव दिए।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेले सरकारसँगका कार्यक्रमहरूको भुक्तानी लिन समस्या पर्ने गरेको गुनासो गरे। उनका अनुसार कागजात ठीक हुँदा पनि कर्मचारीहरूले बहाना बनाउने गरेकाले सकारात्मक दृष्टिकोण आवश्यक छ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य नरेन्द्र देव भट्टले सुदूरपश्चिममा बोर्डको कार्यालय यसै आर्थिक वर्षमा खोल्ने तयारी भएको जानकारी दिए। उनले हिमाल, शक्तिपीठ र सांस्कृतिक क्षेत्रको प्रभावकारी प्रचार–प्रसार गर्न सबैको सहकार्य आवश्यक भएको बताए।
त्यस्तै, सचिव कोइरालाले विज्ञापन र प्रचार नहुँदा यहाँका पर्यटकीय स्थलहरू ओझेलमा परेको बताए। उन्होंने बडिमालिकाजस्ता शक्तिपीठमा जाने समय निर्धारण भएको कुरा स्वयं दुखद रहेको टिप्पणी गर्दै, पर्यटन प्रवर्द्धनका लागि खाना–बसाइका सुविधासहित निजी क्षेत्रले पनि अघि बढ्नुपर्ने बताए।
उनका अनुसार भौतिक विकाससँगै जनचेतना वृद्धि र पर्यटकमैत्री व्यवहारले पर्यटक आगमनमा महत्वपूर्ण प्रभाव पार्नेछ। जेन-जी आन्दोलनपछि कर्मचारीको मनोबल खस्किएको बताउँदै उनले राज्य पक्षले पर्यटन–होटल व्यवसायका समस्या समाधानमा गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए।
महासंघका पर्यटन सचिव कलम बमको स्वागत मन्तव्यमा शुरु भएको कार्यक्रम महासंघका महासचिव शंकर भण्डारीले सञ्चालन गरेका थिए। कार्यक्रममा होटल व्यवसायी, जनप्रतिनिधि, संघ–संस्था तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।