नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार देखि सुरु हुने नेपाल प्रिमियर लिग (NPL) 2025 को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
क्यानले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी यस वर्षको प्रतियोगिताका बारेमा जानकारी दिएको हो।
क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार, टिकट बिक्रीबाट ८–१२ करोड रुपैयाँ उठ्ने अनुमान छ।
यसअघि स्पोन्सरसिपबाट १५ करोड ४० लाख, टिमबाट ९ करोड र डिजिटल माध्यमबाट ओटीटी प्रसारणमा ५ करोड ३० लाख रुपैयाँ उठिसकेको छ।
गत वर्षबाट सुरु भएको एनपीएल यस वर्ष रात्री खेल सहित सञ्चालन हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पनि विभिन्न सुधार गरिएको छ।
उद्घाटन खेल सोमबार दिउँसो ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच हुनेछ।
एनपीएलमा कुल आठ टोली सहभागी छन्:
बिराटनगर किङ्स
जनकपुर बोल्ट्स
चितवन राइनोज
काठमाडौं गुर्खाज
पोखरा एभेन्जर्स
लुम्बिनी लायन्स
कर्णाली याक्स
सुदूरपश्चिम रोयल्स
प्रतियोगिता आगामी २७ मंसिरसम्म चल्नेछ।