सुन्दर सुदूरपश्चिम यातायात प्रालिले ठूलो लगानीमा नयाँ बस सेवा ‘राजगद्दी एक्सप्रेस’ सञ्चालनमा ल्याएको छ। शुक्रबार धनगढीमा आयोजित एक कार्यक्रममा बस सेवाको औपचारिक शुभारम्भ गरिएको हो।

यो बस सेवा धनगढी बसपार्कदेखि काठमाडौंसम्म सञ्चालन हुने भएको छ। प्रारम्भिक चरणमा ६ वटा बस सञ्चालनमा ल्याइएको छ। प्रत्येक बसमा करिब रु. १ करोड ३० लाखभन्दा बढी लगानी गरिएको सुदूरपश्चिम यातायातका अध्यक्ष पदम सापकोटाले जानकारी दिए।

उनका अनुसार धनगढी–काठमाडौं मार्गको भाडा रु. ३५ सय निर्धारण गरिएको छ, जसमा खाना र खाजाको सुविधा समेत समावेश छ। बसमा दुई चालक रहने छन् र सिटहरू अत्याधुनिक सुविधासहितका छन्।
नाटा सुदूरपश्चिमका अध्यक्ष पदम बिक्रम सिंहले ‘राजगद्दी एक्सप्रेस’ ले यातायातसँगै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउने बताए।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले सुदूरपश्चिम यातायातले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै प्रदेशको विकासमा उल्लेखनीय योगदान पुर्याइरहेको बताए।
राष्ट्रिय यातायात व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष टेकराज जोशीले सरकारले यातायात क्षेत्रप्रति उपेक्षा गरेको भन्दै धनगढी बसपार्कको उचित व्यवस्थापन गर्न आग्रह गरे।

कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख डा. हेमराज पन्तले सुदूरपश्चिम यातायातले सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको बताए। उनका अनुसार ‘राजगद्दी एक्सप्रेस’ नामअनुसार नै यात्रुहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नेछ।
अध्यक्ष सापकोटाले चालक तथा सहचालकले यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिँदै यस सेवाबाट सुदूरपश्चिमको छवि अझ उजागर हुने विश्वास व्यक्त गरे।