अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा शनिबार राति भएको आगलागीबाट पीडित परिवार र व्यवसायीलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले पीडितका लागि तत्काल ८ लाख रुपैयाँ नगरपालिका मार्फत उपलब्ध गराउने निर्णय गरेको हो।
मुख्यमन्त्री शाहले भने, “आगलागीबाट क्षति पुगेका परिवार तथा व्यवसायीलाई मानवीय सहायतास्वरुप उक्त रकम उपलब्ध गराइनेछ। सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर रकम वितरण गर्नेछ।”
बैठकले दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित टिङ्कर र छाङरु क्षेत्रमा भदौ महिनामा आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएका पुलहरूको तत्काल पुननिर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।
यस्तै, कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका, बेलौरी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधराचाँदनी नगरपालिकामा वन्यजन्तुको आक्रमण, मानवबस्तीमा आक्रमण तथा खेतबारीमा बालीनाली नोक्सानी न्यूनीकरण गर्न आवश्यक रोकथाम उपाय अवलम्बन गर्न र सुरक्षा उपकरण (टर्च लाइट आदि) वितरणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि भएको छ।