सुदूरपश्चिम प्रदेशको पर्यटन, उद्योग, व्यापार र कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सुदूरपश्चिम महोत्सव २०८२ यही मंसिर २८ गतेदेखि मंसिर २ गते सम्म धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा हुने भएको छ।महोत्सवको आयोजना केलाली उद्योग वाणिज्य संघको संयोजनमा गर्न लागिएको हो।
संघका अध्यक्ष पुष्कर राज ओझाका अनुसार महोत्सवको यस पटक १९औँ संस्करण भव्यरूपमा सम्पन्न गरिने तयारी भइरहेको छ। उनले महोत्सव सुदूरपश्चिमको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानसँगै व्यवसायिक अवसर सृजना गर्ने उद्देश्यले आयोजना गरिएको बताए।
महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल र सूचना प्रविधिसहितका ५ सय जती स्टलहरू रहनेछन्। साथै, कृषिमा नयाँ प्रविधि र व्यवसायमा नवप्रवर्तन प्रदर्शन गरिनेछ।
संघले महोत्सवका लागि करिब ३ करोड रुपैयाँको लगानी गर्ने अनुमान गरेको छ। यसपटक करिब ७ लाखभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
महोत्सवमा महिला उद्यमशीलता प्रवर्द्धनका लागि ५५ वटा निःशुल्क महिला स्टल रहनेछन् भने विद्यालयका विद्यार्थी र खेलाडीहरुको लागि टिकट दर क्रमशः रु.५० र अन्य सर्बसाधारणको लागि रु.१०० तोकिएको छ। पत्रकार, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क रहनेछ।
संघका अध्यक्ष ओझाले सबै राजनीतिक दल, नागरिक समाज, संघसंस्था, सञ्चारकर्मी र उद्यमी व्यवसायीलाई आफ्नो आ–आफ्नो तहबाट सहभागिता जनाई महोत्सव सफल बनाउन आग्रह गरेका छन्।