नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेट प्रतियोगिता आगामी कार्तिक १५ गतेदेखि काठमाडौंको मुलपानी क्रिकेट ग्राउन्डमा सुरु हुँदैछ। देशभरका सातवटै प्रदेशका टोली सहभागी हुने यस प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै ‘खप्तड सुदूरपश्चिम थन्डर’ ले सहभागिता जनाउने भएको छ।
टि-१० फर्म्याटमा, टेनिस बल प्रयोग गरी खेलिने प्रतियोगितामा पहिलोपटक देशभरका खेलाडीहरूले स्टेडियम स्तरको अनुभव पाउनेछन्। खप्तड सुदूरपश्चिम थन्डरका टिम सञ्चालक अरुण भण्डारी ले मंगलबार कैलालीको गोदावरी नगरपालिका-४ स्थित ग्रिन गोदावरी रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा टिमको तयारीबारे जानकारी गराए।
भण्डारीले बताए अनुसार, प्रतियोगिताका लागि हालै सम्पन्न अक्सनमार्फत टिमले ७ लाख ३५ हजार रुपैयाँमा खेलाडीहरू खरिद गरेको छ। १६ सदस्यीय टिम स्क्वाडमध्ये १२ जना खेलाडी सुदूरपश्चिमकै रहेका छन्। राष्ट्रिय टोलीका पूर्व खेलाडी मेहबुब आलम टिमका मार्की प्लेयरका रूपमा अनुबन्धित छन्।
भण्डारीले गल्ली टोलमा खेलिने टेनिस बल क्रिकेटलाई व्यवस्थित र व्यावसायिक स्वरूप दिने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। उनले भने, “पहिलोपटक टेनिस बल क्रिकेट स्टेडियमसम्म पुग्न लागेको छ, जुन खेलाडीहरूका लागि गौरवको कुरा हो। यसबाट भविष्यमा अझ धेरै क्रिकेट खेलाडी उत्पादन हुने आशा गरेका छौं।”
प्रतियोगिता कार्तिक २५ गतेसम्म मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रारम्भिक चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुनेछ भने शीर्ष चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। विजेता टिमले २१ लाख रुपैयाँ, उपविजेताले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।