शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो सभा बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
विश्वविद्यालय ऐन, २०८२ को परिच्छेद ४ को दफा बमोजिम गठित सभाको बैठक मङ्गलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सह–कुलपति महावीर पुनको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा काठमाडौंस्थित केशरमहलमा बसेको थियो।
बैठकले विश्वविद्यालय ऐनअनुसार स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अन्य विश्वविद्यालयका उपकुलपतिमध्येबाट सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तलाई सभाको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ।त्यसैगरी, ऐनको प्रावधानअनुसार विभिन्न क्षेत्रका विज्ञहरूलाई सभासदस्यका रूपमा मनोनीत गरिएको छ।
सभासदस्यमा मनोनीत हुने विज्ञहरूमा प्रा. डा. जयराज अवस्थी ( दार्चुला)प्रा. डा. अम्मराज जोशी (बझाङ),डा. लवदेव अवस्थी ( बैतडी),प्रा. डा. संगीता राजभण्डारी (काठमाडौं) , डा. डम्बरबहादुर पाल (दार्चुला) र सह–प्रा. अनुराधा रोकाय ( कञ्चनपुर) रहेका छन् ।
त्यसैगरी, विश्वविद्यालय ऐन, दफा २५ को उपदफा (१) अनुसार उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति पनि गठन गरिएको छ।
समितिको संयोजकमा प्रा. डा. जयराज अवस्थी, सदस्यमा प्रा. डा. दीपक महरा र प्रा. डा. भारती जोशी रहेका छन्।