प्राध्यापक डा. गोविन्द केसीले कैलालीको गेटाबाट आफ्नो २३औँ सत्याग्रह सुरु गरेका छन् । आइतबार आज देखि उनले अनशन सुरु गरेको घोषणा गरेका हुन्। चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि संघर्षरत डा. केसीले यसपटक पनि निजी मेडिकल कलेजलाई विद्यार्थी संख्या बढाउन दिने निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन्।
उनका अन्य प्रमुख मागहरूमा शुल्कवृद्धि नगर्ने, सम्झौता अनुसार इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्ने, गेटाको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल पूर्ण क्षमतामा अस्पताल र शैक्षिक कार्यक्रम सुरु गर्ने, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन पारित गर्ने, मेडिकल शिक्षा गैरनाफामूलक बनाउने तथा सरकारी अस्पतालमा दरबन्दी वृद्धि गर्ने समावेश छन्।
डा. केसीले विगतमा भएका सबै सम्झौता कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दै भने, “सम्झौता गरेर भोलिपल्टै तोड्ने प्रचलन अन्त्य हुनुपर्छ।”
राष्ट्रियता र अन्तर्राष्ट्रिय मुद्दा पनि मागमा
यो पटक उनले चिकित्सा शिक्षासँगै उनले लिपुलेकमा भारतको अतिक्रमण रोक्न र अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले ठोस कदम चाल्नुपर्ने माग राखेका छन्।
साथै, उनले युक्रेन र गाजामा भइरहेको युद्ध तत्काल रोक्न रुस र इजरायलसमक्ष माग समेत अघि सारेका छन्।