सुदूरपश्चिममा आज भदौ सङ्क्रान्ति अर्थात् ओल्के पर्व धुमधामसहित मनाइँदैछ । डोटेली संस्कृति अनुसार भदौ १ गतेलाई जेठो पर्वका रूपमा मनाइन्छ, जसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ।
यस दिन आफुभन्दा ठुला–बडालाई सम्मानस्वरूप ओल्को (फलफूल, सागपात, कर्कलाको भित्री पात, दुध, दही, घिउ आदि) दिने चलन छ। उत्पादनको पहिलो अंश देवतालाई अर्पण गर्ने र आफन्तबीच परिकार आदानप्रदान गर्ने परम्परा रहेको छ।
ओल्के पर्वमा गाउँघरमा विशेष परिकार जस्तै फाँणो, गतानी डुब्का, रोट, माणा खाने, गीत–नृत्य गर्ने तथा बुडी पोल्ने चलन रहिआएको छ। यस दिन बाबियाको डोरीको पिङ बनाउने संस्कार पनि हुन्छ।
जनविश्वास अनुसार भदौ १ गतेदेखि सात दिन सात रातसम्म झरी पर्ने र खहरे खोला समुद्रसम्म पुग्ने अवधिसँग यसलाई जोडिएको छ। ओल्केलाई डोटेली संस्कृतिको पहिलो ‘त्यार’ (चाडपर्व) मानिन्छ।
ऐतिहासिक रूपमा ओल्के पर्वमा गाउँका मुखियाहरू अजयमेरुकोट पुगी राजा र देवतालाई ओल्को चढाउने चलन रहेको इतिहासकार बताउँछन्।